बीपी प्रतिष्ठान छानविन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले आज प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएको हो। प्रतिष्ठानमा देखिएको अनियमितता र पदाधिकारी हटाउने विषयमा छानबिन गर्न ५ कात्तिकमा स्वास्थ्यमन्त्रीको अध्यक्षतामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र धरान उपमहानगरका मेयर सदस्य रहेको समिति गठन गरिएको थियो।
प्रतिवेदन बुझाएपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री खतिवडाले छिट्टै बस्ने प्रतिष्ठानको सिनेट बैठकले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गर्ने बताए। यसले बीपी प्रतिष्ठानमा देखिएका समस्याको समाधान गर्न बाटो खुलाउने उनको भनाइ थियो।
“प्रतिष्ठानमा देखिएका विवादका विषयको छानबिनको माग गर्दै सिनेटका ६ जना सदस्यले निवेदन दिएका आधारमा छानबिन समिति गठन भएको र यसले आफ्नो प्रतिवेदन पनि बुझाइसकेको अवस्थामा अब छिट्टै समस्याको समाधान हुनेछ,” खतिवडाले भने।
प्रतिवेदन तयार गर्ने क्रममा आन्दोलनरत पक्ष, प्रतिष्ठानका कर्मचारी, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालासँग बसेर छलफल गरिएको थियो। त्यस्तै, विगतमा गठन गरिएका समितिले दिएका प्रतिवेदनको समेत अध्ययन गरिएको उनले बताए।
प्रतिवेदनमा प्रतिष्ठानमा भइरहेको अनियमितता, चिकित्सकको आन्दोलन तथा प्रतिष्ठानका पदाधिकारी हटाउने विषयमा छानबिन गरी सुझाव दिइएको छ। प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता बढेको भन्दै त्यहाँका चिकित्सक चार महिनादेखि आन्दोलनमा छन्।