माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने
नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिले बैठकले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महाराले बताए। “आगामी पुसमा हुने राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय भएको छ,” प्रवक्ता महराले भने।
माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस दोस्रो साता गर्ने यसअघि नै तय भएको थियो। तर, स्थानको विषयमा निर्णय गरिएको थिएन।
माओवादीको टोल सम्मेलन २७ कात्तिकसम्म, वडा सम्मेलन ४ मंसीरसम्म, स्थानीय तहको सम्मेलन ११ मंसीरसम्म र प्रदेश सम्मेलन २५ मंसीरसम्म गर्ने तय भएको छ। सदस्यता नवीकरणको म्याद यसअघि नै २७ कात्तिकसम्म थप गरिएको थियो।
यससँगै माओवादी स्थायी समितिले बैठकले अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा पनि छलफल गरेको छ। राष्ट्रिय सहमति नभएसम्म एमसीसी अघि नबढाउन सरकारलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता महराले बताए।