विश्वासको मत पाए भ्रष्टाचार नियन्त्रण गर्छु : मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाए भ्रष्टाचार नियन्त्रणमा लाग्ने बताएका छन्।
सोमबार बसेको बागमती प्रदेश सभामा बैठकमा विश्वासको मतको प्रस्ताव टेबुल गर्दै मुख्यमन्त्री पाण्डेले फजुल खर्च घटाउने र भ्रष्टाचार नियन्त्रणमा लाग्ने बताएका हुन। बैठकमा उनले भने, “भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु मेरो प्रमुख प्राथमिकता हुनेछ।”
बागमती प्रदेशलाई प्राप्त साधनस्रोतको अधिकतम उपयोगमा लाग्ने पनि उनले दाबी गरे।
संविधानको धारा १६८ मा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। नेकपा (एकीकृत समाजवादी)का पाण्डेलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतले विश्वासको मत दिने प्रतिबद्धता जनाइसकेका छन्।