अब कांग्रेस महाधिवेशन गर्ने-नगर्ने मेरो हातमा छैन : देउवा
आगामी १४औं महाधिवेशन गर्ने वा नगर्ने भन्ने कुरा आफ्नो हातमा नभएको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।
तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुक्रबार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै देउवाले कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुने बताए। त्यसको जिम्मा निर्वाचन समितिलाई दिइसकेको उनको भनाइ थियो।
उनले नेता तथा कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरे। “अब महाधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ। मैले चाहेर पनि केही हुँदैन,” देउवाले भने, “महाधिवेशन समयमा हुन्छ। अधिवेशनको तयारीमा लाग्नुहोला।”
उनले स्थानीय तहदेखि नै सकभर सर्वसम्मतिले नेतृत्व चयन गर्न आग्रह गरे। सर्वसम्मति नभएमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ थियो। “अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस्,” देउवाले भने।
पार्टी अधिवेशनमा जित–हारलाई दुश्मनीका रूपमा लिन नहुने उनको भनाइ थियो। “जित हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग लिनुपर्छ। जित–हारमा दुश्मनी नबढोस्,” देउवाले भने।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कोभिड-१९ को संक्रमणबाट जोगिने गरी स्वास्थ्य मापदण्ड पालना गर्न र खोप लगाउन आग्रह गरे। बेलायतमा अस्ट्राजेनेका खोपको तेस्रो डोज लगाउन थालिएको उल्लेख गर्दै नेपालमा पनि लगाउनुपर्ने बताए। यसका लागि सरकारले तयारी गरिरहेको जनाउँदै सबैलाई खोप लगाउन आह्वान गरे।