एमालेमा बसेका १० नेतालाई आफ्नो पार्टीमा आउन नेपालको आह्वान
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)मा बसेका १० नेतालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन्।
बिहीबार भक्तपुरको मध्यपुर थिमिमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको ढोका खुला रहेको बताए। उनले एमालेमा रहेका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन्।
उपाध्यक्ष भीम रावल लगायत नेपाल पक्षका १० नेता अन्तिम समयमा एमालेमै बसेका थिए। उनीहरूले अहिले पनि १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै आएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अब १० बुँदेको अर्थ नरहेको बताउँदै आएका छन्।
त्यसैलाई इङ्गित गर्दै नेपालले एमालेमा दबिएर नबस्न १० नेतालाई आग्रह गरेका हुन्। “एमालेमा बसेर पछुताइरहनुभएको छ, तपाईंहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ। त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको?” नेपालले भने, “एमालेमा पछुताउँदै बस्नु पर्दैन, अझै केही बिग्रिएको छैन। आउनुहोस्, १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ।”
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सङ्घीय संसद्को चुनाव संविधानले निर्धारण गरेका मितिमा हुने बताए। “कोही भ्रममा नपरे हुन्छ, अर्ली इलेक्सन हुँदैन, छिटै चुनाव हुनेवाला छैन। सङ्घीय संसद्को चुनाव आफ्नै समयमा हुनेछ,” नेपालले भने, “आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रिय सभाको चुनाव हुन्छ। रिक्त स्थानमा सङ्घीय उपनिर्वाचन पनि अब हुन्छ।”