मुख्यमन्त्रीका लागि राजेन्द्र राईको दाबी
प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्।
विपक्षी गठबन्धनका तर्फबाट ५० सांसदको समर्थन सहित राईले दाबी पेश गरेका हुन्। उनले सोमबार साँझ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई बहुमत सांसदको हस्ताक्षर सहितको पत्र बुझाएका छन्।
पत्रमा नेपाली कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक सांसदको हस्ताक्षर छ। प्रदेश सभामा अहिले ९२ सांसद छन्। सरकार गठनका लागि ४६ सांसदको समर्थन आवश्यक पर्छ।
यसअघि भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकार गठनका लागि आह्वान गरेका थिए। उनले सरकार गठनका लागि दाबी पेश गर्न मंगलबार मध्याह्न २ बजेसम्मको समय दिएका छन्।