प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा घोषणा
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेका आचार्यले सोमबार प्रदेश सभा बैठकमा बोल्दै राजीनामाको घोषणा गरेका हुन्। प्रदेश १ सभामा एमालेका ४१ सांसद छन्।
एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)मा १० सांसद गएपछि आचार्यको सरकार अल्पमतमा परेको हो। आफ्नो नेतृत्वको सरकारले छोटो अवधिमा कोभिड-१९ महामारी नियन्त्रण, सवारी साधन तथा सवारी चालक अनुमति पत्र नवीकरण, प्रदेश राजधानी, भूमि सुधार कार्यालय लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको आचार्यको दाबी थियो।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिसकेका छन्। पाँच दलका ५० सांसद छन्। प्रदेश १ मा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।