लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी तीन दिने कार्यशाला शुरू
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आइतबारदेखि काठमाडौंमा शुरू भएको छ।
मर्यादा मिडियाको आयोजनामा सातै प्रदेशका दलित महिलाको सहभागितामा शुरू भएको कार्यशालामा दलित समुदायका राजनीतिक, सामाजिक तथा पेशागत जीवनमा सक्रिय ३५ जना महिलाको सहभागिता छ।
कार्यशालाको संविधानसभा सदस्य कमला विश्वकर्मा, बागमती प्रदेश सभा सदस्य शोभा शाक्य, मधेशी दलित महासंघकी केन्द्रीय सदस्य गीता पासवान, एशियन जेन्डर ट्रेनिङ केआईजीएपीई २० फेलो सावित्रा परियार, १९ फेलो अन्जु कँडेल र मर्यादा मिडियाका अध्यक्ष प्रकाशचन्द्र परियारले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई केन्द्रमा राखेर विविधताको प्रवर्द्धन गरिरहेको मर्यादा मिडियाले दलित महिलाभित्रको विविधतालाई वकालत शुरू गरेको छ।
समारोहमा हिमाल, पहाड, मधेश सबै क्षेत्रका दलित महिलाका विशिष्ट समस्यालाई सम्बोधन गर्न नयाँ पहल शुरू भएको आयोजकले बताएको छ।
वक्ताहरूले दलित समुदायभित्रका महिलाको सशक्तीकरणमा राज्य, सबै दल, निजी क्षेत्र र गैरसरकारी क्षेत्रको विशेष पहल हुनुपर्नेमा जोड दिएका छन्।
लैङ्गिक, जातीय र आर्थिक रूपमा त्रिकोणात्मक मार खेपिरहेको दलित महिलाका सवाललाई अब राज्यका सवाल बनाउन नसके समतामूलक समाजको कल्पना पनि गर्न नसकिने वक्ताहरूको टिप्पणी थियो।
कार्यशालामा मानव अधिकार, सामाजिक न्याय, लैङ्गिक समानता, समावेशीकरण र मानव मर्यादाका विविध पाटोबारे विषय विज्ञबाट अन्तर्क्रियात्मक प्रशिक्षण दिइनेछ।