उपेन्द्र यादवको आलोचना गर्ने सांसदलाई स्पष्टीकरण
अध्यक्ष उपेन्द्र यादवको आलोचना गरेकाे भन्दै जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना सांसद प्रदीप यादवलाई स्पष्टीकरण सोधेको छ।
जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले पठाएको स्पष्टीकरण पत्रमा सांसद यादवलाई सात वटा प्रश्न सोधिएका छन्। १२ कात्तिकमा पठाएको पत्रमा उनलाई तीन दिनभित्र जवाफ दिन भनिएको छ।
सांसद यादवलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंको निर्देशनमा केही व्यक्तिहरूले उच्छृङ्खल ढङ्गबाट पार्टी झण्डा जलाउने, पार्टी विरोधी नारा लगाउने कार्य गरी पर्सा जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै केन्द्रीय कार्यालय बालकुमारीमा पनि पार्टी अध्यक्षको पुत्ला जलाउने र जसपा मूर्दावाद जस्ता नारा लगाई केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने जस्ता अशोभनीय, अनुशासनहीन, अराजक र पार्टी अनुशासन विपरीतका कार्य भएको छ।”
मन्त्रिपरिषद् विस्तार गर्दा यादवलाई मन्त्री नबनाएको भन्दै उनका समर्थकले २३ असोजमा जनकपुरमा प्रदर्शन गरेका थिए। उनीहरूले अध्यक्ष यादवको पुत्ला जलाएका थिए।
पार्टी विरुद्ध गतिविधि गरेकाले उनलाई स्पष्टीकरण सोधिएको जसपा स्रोतले जनाएको छ। उनलाई मन्त्री पद नपाउँदा पार्टी विरुद्ध सञ्चारमाध्यममा बोलेको पनि आरोप लगाइएको छ।
सांसद यादवलाई स्पष्टीकरण पत्र पठाएको भए पनि जसपाको कुनै तहले कारबाहीको निर्णय नगरेको स्रोतले जनाएको छ। त्यस्तै, अनुशासन आयोगका पदाधिकारीलाई पनि स्पष्टीकरण सोधिएको विषयमा जानकारी नभएको स्रोतको भनाइ छ।