प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा सरकार बन्छ : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने बताएका छन्।
शनिबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चाँडै प्रदेश १ को सरकार फेरबदल हुने बताएका हुन्। “बागमती प्रदेशमा राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनिसकेको छ। अब छिटै प्रदेश १ मा पनि राजेन्द्र राईको नेतृत्वमा सरकार बन्छ,” नेपालले भने।
११ कात्तिकमा बागमती प्रदेशमा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका छन्। नेकपा (एमाले) नेत्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि एकीकृत समाजवादीले सरकारको नेतृत्व गरेको हो।
त्यस्तै, प्रदेश १ मा एमाले संसदीय दलका नेता आचार्य मुख्यमन्त्री छन्। एमाले विभाजनसँगै १० सांसदले एकीकृत समाजवादी रोजेपछि आचार्य अल्पमतमा परेका छन्।
पाँच दलीय गठबन्धनबीच भएको सहमति अनुसार, प्रदेश १ मा पनि एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने नेपालको भनाइ थियो। राई प्रदेश १ को एकीकृत समाजवादीको संसदीय दलको नेता हुन्।
त्यस्तै, अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन मजबूत रहेको बताए। आगामी चुनावसम्म गठबन्धन जारी रहने उनको भनाइ थियो।