निधिलाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी
नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वर्ल्ड लिडर्स सम्मेलनमा सहभागी हुन शुक्रबार बेलायत प्रस्थान गरेका छन्। बेलायत प्रस्थान गर्नुअघि उनले उपसभापति निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम आफू स्वदेश नफर्कुन्जेल निधिलाई कार्यवाहक सभापति तोकेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बेलायतको ग्लास्गोमा १२ देखि २६ सम्म कोप–२६ सम्मेलन हुँदै छ। प्रधानमन्त्री देउवा १८ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम छ।