केपी ओलीले बदला लिन महाअभियोगको प्रचार गरेका हुन् : नेपाल
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाउने कुरा गलत प्रचार भएको नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।
अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने कुनै कारण नभएको जिकिर गरे। महाअभियोगको गलत प्रचारका पछाडि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कार्यकर्ताकाे हात रहेको उनको आरोप थियो।
शुक्रबार पोखरामा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले बदलाको भावनाले गलत प्रचार गरिएको बताए। नेपालले भने, “केपी ओलीले बदला लिन यस्तो प्रचार गरेका हुन्।”
संसद् पुनःस्थापना गरेको बदला लिन यस्तो प्रचार गरिएको उनको जिकिर थियो। “दुई-दुई पटक संसद् विघटन गर्दा प्रधानमन्त्री रहेका ओलीसँग छलफल नगरी सर्वोच्चले संसद् पुनःस्थापनाको फैसला गरेकाले बदला लिन खोजेका हुन्,” नेपालले भने, “महाअभियोग लगाउने कुनै कारण छैन।”
एक प्रश्नको जवाफमा अध्यक्ष नेपालले आगामी निर्वाचनमा सत्ता गठबन्धन एक भएर लड्ने बताए। गठबन्धनले सँगै चुनाव लड्न नमाने एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार रहेको नेपालको भनाइ थियो।
अध्यक्ष नेपालले राज्यको खर्च जोगिने गरी निर्वाचन गर्नुपर्ने बताए। पटक पटक निर्वाचन गर्दा राज्यको धेरै खर्च हुने बताउँदै एकैपटक गर्नुपर्ने बताए। २०७४ सालमा तीन चरणमा निर्वाचन भएको थियो।
उनी सुदूरपश्चिमका कार्यकर्तासँग भेटघाटपछि गण्डकी पुगेका हुन्। उनले गण्डकीका विभिन्न स्थानमा आयोजना हुने एकीकृत समाजवादीका कार्यक्रम सम्बोधन गर्ने भएका छन्।