देशभरि कति छन् एमालेका सदस्य?
नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा एक हजार ५३६ प्रतिनिधिले भाग लिने भएका छन्।
महाधिवेशनमा तीन खालका प्रतिनिधिले भाग लिन लागेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बिहीबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए।
एमालेमा केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय सल्लाहकार कमिटीका निश्चित सदस्य गरी २६२ जना पदेन प्रतिनिधिको व्यवस्था छ।
पदेन बाहेक भूगोलबाट एक हजार १९६ प्रतिनिधि चयन गरिने प्रवक्ता ज्ञवालीले बताए। विधानमा प्रतिनिधि सङ्ख्याको पाँच प्रतिशत मनोनयन गर्न पाउने व्यवस्था छ।
कुल प्रतिनिधिको ३३ प्रतिशत महिला सहित ५१ प्रतिशत समावेशी हुने ज्ञवालीले जानकारी दिए। उनका अनुसार, प्रतिनिधि सम्बन्धी प्रस्ताव शुक्रबारको केन्द्रीय समितिमा प्रस्तुत गरिने भएको छ। संघीय संसद्को सबैभन्दा ठूलो दल एमालेका देशभरि सात लाख २१ हजार पार्टी सदस्य छन्।