आम निर्वाचनमा अरू दलसँग गठबन्धन हुँदैनः सुजाता कोइराला
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएकी छन्।
बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले कांग्रेस एक्लै चुनाव लड्ने बताएकी हुन्। कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उनले बताइन्।
कोइरालाले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने दाबी गरिन्। महाधिवेशनमा आफ्नो उम्मेदवारीका विषयमा पनि छलफल भइरहेको कोइरालाले बताइन्।
उनले भनिन्, “राजनीतिमा परिवारभन्दा विचार कोसँग मिल्छ भन्ने कुरा महत्त्वपूर्ण हो, बाँकी कुरा उम्मेदवारीको समय आएपछि जानकारी दिनेछु।”
- रासस