दश बुँदे भन्ने साथीहरूको हरिबिजोग छ: नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)मा १० बुँदे सहमति भन्ने नेताहरूको अहिले हरिबिजोग भएको बताएका छन्।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले १० बुँदे सहमति भन्नेहरू नै अप्ठ्यारोमा परेको बताएका हुन्। “आदेशको पालना गर्यो भने स्याबास, बस्न पाउँछ,” नेपालले थपे, “आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको सुन्नुभएको छ।”
एमाले विभाजनअघि १० बुँदे सहमति गरिएको थियो। जसमा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनुअघिको २ जेठ २०७५ मा फर्किने उल्लेख थियो। नेपालको पक्षमा रहेका केही नेता त्यही १० बुँदे सहमति पालना गर्ने भन्दै एमालेमा बसेका थिए।
तर, ४ कात्तिकमा आयोजित एमाले स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको ट्याउँ ट्याउँ नगर्न आग्रह गरेका थिए। ओलीले भनेका थिए, “माधव नेपालले पार्टी विभाजन नगर्लान् भनेर १० बुँदे गरिएको हो। अब १० बुँदे भनेर ट्याउँ ट्याउँ नगराैं।”
ओलीको त्यही भनाइलाई कटाक्ष गर्दै नेपालले भने, “दश बुँदेको ट्याउँ ट्याउँ! दश बुँदे भन्ने साथीहरूको कस्तो हरिबिजोग भएको छ।”
एमालेमा दश बुँदे सहमति भन्ने नेताहरूले कुनै सम्मान नपाएको नेपालको भनाइ थियो। “कुनै मर्यादा छैन, कुनै सम्मान छैन। कुनै छलफल छैन,” नेपालले भने। त्यसैले आफूहरूले एकीकृत समाजवादी गठन गरेको उनको जिकिर थियो।