मुख्यमन्त्री शाक्यले १० कात्तिकमा विश्वासको मत लिने
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार पुनः एक साता लम्बिएको छ।
बिहीबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्तावमा मतदान नभएपछि सरकारको आयु एक साता लम्बिएको हो। अब विश्वासको मतको प्रस्तावमाथि १० कात्तिकमा बस्ने प्रदेश सभाको बैठकमा मतदान हुने भएको छ।
प्रदेश सभाको बैठक आगामी १० कात्तिकसम्मका लागि स्थगित गरिएको छ। आगामी बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धी बाँकी सम्पूर्ण प्रक्रिया पूरा गरिने सभामुख सानुकुमार श्रेष्ठले बताए।
बिहीबार अपराह्न ३ बजे बसेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत प्राप्त गर्नको लागि एमाले नेतृत्वको सरकारले साढे तीन वर्षमा गरेको कामको विवरण सुनाएकी थिइन्। एमालेको नेतृत्वमा जनहितका लागि प्रभावकारी काम भएकाले आफू नेतृत्वको सरकारलाई विश्वासको मत प्रदान गर्न उनले आह्वान पनि गरिन्।
प्रदेशमा ६ सय ४० पक्की सडकको बहुबर्षीय ठेक्का सम्झौता भएको, प्रदेशका १३ वटै जिल्लामा खानेपानीको पहुँच विस्तार गरिएको, कृषि क्षेत्रको विकासका लागि कृषकलाई मल, बीउबीजन उपलब्ध गराउने कार्य गरिएको उनले सुनाइन्। त्यस्तै, युवा र खेलकुद कार्यक्रम लक्षित गरी ९१ वटा खेल संचालन गर्ने गरी तयारी गरिएको, शैक्षिक गुणस्तर विस्तारको लागि पहल भएको, उद्योग कलकारखानाको संरक्षण तथा विस्तारमा पहल भएको मुख्यमन्त्री शाक्यले जिकिर गरिन्।
२ भदौमा एमालेको एकल बहुमतबाट शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्। एमाले विभाजन भएर १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी हुन्।
प्रदेश सभामा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद शालिकराम जमकट्टेले विपक्षी गठबन्धनको बैठकले पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको बताए।
त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले एमाले नेतृत्वको सरकारले भ्रमको खेती गरेको आरोप लगाए। एमाले नेतृत्वको सरकारले साढे ३ वर्षे कार्यकालमा गरिब जनताको लागि खाना, नाना र छानाको नारा भजाएर व्यक्तिगत स्वार्थका लागि मात्रै काम गरेको उनको भनाइ थियो।
मुख्यमन्त्री शाक्यले गएको २४ असोजमा बसेको प्रदेश सभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन्। आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूची रहेको भए पनि प्रदेश सभाको बैठक १० कात्तिकसम्म स्थगित भएको छ।