हिमपातले चार विदेशी सहित १२ जना नाम्खामा अलपत्र
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीको पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारदेखिको हिमपातका कारण लिमी क्षेत्रको तुम्लिङमा अलपत्र परेका छन्।
पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकेर सिमकोट फर्किने क्रममा उनीहरू बाटोमै अलपत्र परेका हुन्। आइतबार रातिबाट भएको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि तुम्लिङमा रोकिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।
हिमपातका कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध छ। जसले गर्दा विदेशी सहित १२ जना रोकिएका हुन्।
२२ असोजमा सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएको टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो। न्यालु लेकमा बाक्लो हिमपात हुँदा उतै रोकिनुपरेको जनाइएको छ।
न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात भएको छ। जसले गर्दा बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।
उनीहरूको उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गर्न गृह मन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। मौसम सफा नभएकाले उद्धारमा कठिनाइ भएको उनले बताए। (रासस)