तीन दिनमा ३७ जनाको मृत्यु, ४३ सम्पर्कविहीन
देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी तीन दिनमा ३७ जनाको ज्यान गएको छ भने ४३ जना सम्पर्कविहीन छन्।
बुधबार बिहानसम्मको विवरण अनुसार, बाढी र पहिरोबाट इलाममा सात, पाँचथरमा ६, डोटीमा नौ, धनकुटामा ६, बैतडीमा चार, सुनसरीमा दुई, कालीकोटमा एक र डडेल्धुरामा दुई जनाको ज्यान गएको छ।
पहिरोमा पुरिएर हुम्लामा ६, बझाङमा २३, कैलालीमा चार सहित विभिन्न जिल्लाका ४३ जना सम्पर्कविहीन रहेको गृह मन्त्रालयले जनाएको छ। अहिलेसम्म देशका विभिन्न भागबाट सात सयभन्दा बढीको उद्धार गरिएको छ।
त्यस्तै, विपद्मा परेर २२ जना घाइते भएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्। उनका अनुसार, सम्पर्कविहीन व्यक्तिको खोजी भइरहेको छ।
बाढी, पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएका छन्। विशेष गरी सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का जिल्ला प्रभावित छन्।
रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ। नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ।
हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार, आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।