अविरल वर्षापछि प्रदेश १ को विद्युत् आपूर्ति बन्द, सुदूरपश्चिमका पहाडी जिल्लामा पनि विद्युत् आपूर्ति रोकियो
सोमबारबाट परिरहेको अविरल वर्षाका कारण सुनसरीको दुहबीस्थित सबस्टेशन डुबानमा परेको छ। प्रदेश १ का जिल्लाहरूमा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबान परेपछि मङ्गलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायत जिल्लामा विद्युत आपूर्ति बन्द भएको छ।
सबस्टेशन डुबानमा परेपछि अहिले त्यहाँबाट विद्युत् आपूर्ति हुने लाइन काटिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। “बाढी पसेर सबस्टेशन डुबानमा परेपछि त्यहाँबाट विद्युत् आपूर्ति गर्ने लाइन काटिएको छ, यसबाट प्रदेश १ का जिल्लाहरूमा ब्ल्याक आउट भएको छ,” उनले भने।
सबस्टेशनको नियन्त्रण कक्ष डुबानमा परे पनि अहिलेसम्म मुख्य उपकरणमा क्षति नपुगेको उनले बताए। तर, पानी नरोकिएमा उपकरणहरूमा ठूलो क्षति पुग्ने र त्यस क्षेत्रमा विद्युत् आपूर्ति केही दिन बन्द हुन सक्ने घिसिङले बताए। “अहिले सबस्टेशनभित्रको पानी हटाएर उपभोक्तालाई जतिसक्दो छिटो विद्युत् आपूर्ति उपलब्ध गराउन हाम्रो टीम प्रयासरत छ,” घिसिङले भने।
सबस्टेशनको पानी हटाउन आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरी लगायतलाई आग्रह गरिएको पनि उनले बताए। दुहबी सबस्टेशन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको छ। यसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन पनि बन्द भएको छ।
वर्षाका कारण विभिन्न स्थानमा रूख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ। यसबाट दार्चुलामा सञ्चालनमा रहेको ३० मेगावाटको चमेलिया लगायत जलविद्युत् आयोजनाको विद्युत् उत्पादन समेत बन्द भएको छ। सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, अछाम लगायत पहाडी जिल्लाको विद्युत् आपूर्ति समेत बन्द भएको छ।