बझाङमा पहिरोले सात घर पुरिंदा २३ जना सम्पर्कविहीन
बझाङमा पहिरोले दुई गाउँका सात घर पुरिएका छन् भने २३ जना सम्पर्कविहीन छन्।
थलारा गाँउपालिका-४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। माथिबाट पहिरो खस्दा दुई गाउँका बासिन्दा विस्थापित भएका छन् भने सात घर पुरिएका छन् ।
स्थानीय गगने सार्कीको घरमा रहेका १८ जना सम्पर्कविहीन छन्। त्यस्तै, स्थानीय नरे पार्कीको घरमा रहेका पाँच जना पनि सम्पर्कविहीन छन्।
गगने सार्की रोजगारीका लागि भारतमा छन्। उनका माइला छोरा काले सकुशल भेटिएका छन्। अन्यको खोजी भइरहेको स्थानीय बासिन्दाले बताएका छन्।
तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका बासिन्दा विस्थापित भएर स्थानीय त्रिभुवन माविमा बसेका छन्। गाउँ पहिरोको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भएको स्थानीय शान्ति मावि, पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले जानकारी दिए।
बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकाले उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा उद्धारमा जुटेका छन्।