देशभर वर्षा, सुदूरपश्चिममा बाढी र पहिरो
बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले देशभर वर्षा भइरहेको छ। लगातारको वर्षाले सुदूरपश्चिममा बाढी र पहिरोको समस्या बढेको छ।
मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भू-भागमा सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा भएको छ।
पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको महाशाखाले जनाएको छ। यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन प्रभाव रहने मौसमविद् मञ्जु बसीले बताइन्।
गएरातिदेखि पश्चिमी भेगमा भारी वर्षा भएको छ। महाशाखाको पछिल्लो विवरणमा दिपायलमा १६६, डडेलधुरामा १५५, घोराहीमा १३३, भैरहवामा ११२, धनगढीमा ९० र पोखरामा ५६ मिलिमिटर वर्षा भएको छ।
सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। आज राति पनि प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गएरातिदेखिको वर्षाले सुदूरपश्चिमका नदी तथा खोलामा बाढी आएको छ। पहाडी जिल्लामा पहिरो पनि गएका छन्।
महाकाली नदीमा पानीको सतह बढेर कटान भइरहेको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लगातारको वर्षाले सुदूरपश्चिमको तराई क्षेत्रमा डुबान भएको छ। धनगढी तथा महेन्द्रनगरमा समेत डुबानको समस्या देखिएको छ।