राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गरेकी छिन्।
सोमबार राति राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले सूचना प्रकाशित गरी राष्ट्रपतिबाट अध्यादेश खारेज भएको जनाएका छन्। राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ''नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ।''
सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। यस अघि सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले २ भदौमा राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।
राजनीतिक दल सम्बन्धी अध्यादेश आएपछि नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएका थिए। एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका छन्।
यो अध्यादेशमा दल विभाजनका लागि सांसद वा केन्द्रीय सदस्य २० प्रतिशत भएमा पुग्ने व्यवस्था गरिएको थियो। यस अघि दल विभाजनका लागि सांसद र केन्द्रीय सदस्य ४० प्रतिशत हुनुपर्ने व्यवस्था थियो।
राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएसँगै अब कुनै पनि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य आवश्यक पर्नेछन्।