माओवादीको राष्ट्रिय सम्मेलनको कार्यतालिका फेरबदल
नेकपा (माओवादी केन्द्र)को आगामी मंसीरमा हुने राष्ट्रिय सम्मेलनको कार्यतालिका फेरबदल गरिएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनको कार्यतालिका फेरबदल गरेको हो। राष्ट्रिय सम्मेलन र त्यसअघि सम्पन्न गर्नुपर्ने टोल तथा वडा भेलाको कार्यतालिका फेरबदल गरिएको स्थायी समिति सदस्य देवप्रसाद गुरुङ जानकारी दिए।
उनका अनुसार, पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने नयाँ कार्यतालिका तय गरिएको छ। त्यस्तै, टोल भेला ६ कात्तिकसम्म, वडा सम्मेलन १३ कात्तिकमा र स्थानीय तहको सम्मेलन ४ मंसीरमा गर्ने तय गरिएको छ।
स्थायी समिति बैठकले स्थानीय तह, वडा र टोल सम्मेलनलाई केही दिन पर सारेको भए पनि राष्ट्रिय सम्मेलनको कार्यतालिकामा भने कुनै परिवर्तन नगरिएको उनले बताए। माओवादीको राष्ट्रिय सम्मेलन ११ देखि १३ पुससम्म गर्ने तय गरिएको छ।
यससँगै माओवादी स्थायी समिति बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानूनी जटिलतालाई अविलम्ब समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो। बैठकमा सरकार विस्तारका लागि कानूनी जटिलता, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दा लगायत विषयमा छलफल भएको थियो।
स्थायी समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएका थिए। त्यसपछि स्थायी समिति सदस्यको राय लिएका थिए।