यी हुन् एकीकृत समाजवादीका पदाधिकारी
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गरेको छ।
केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा वरिष्ठ नेता, नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहितका पदाधिकारी टुङ्गो लगाएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य विक्रमबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार, वरिष्ठ नेतामा झलनाथ खनाल र नेतामा मुकुन्द न्यौपाने चयन भएका छन्। उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राई छनोट भएका छन्।
महासचिवमा बेदुराम भुसाल चयन भएका छन् भने उपमहासचिवको जिम्मेवारी विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वालालाई दिइएको छ।
यसैगरी, सचिवमा जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, रामकुमारी झाँक्री र राजेन्द्र राईलाई चयन गर्ने निर्णय भएको केन्द्रीय सदस्य शाहीले बताए।
त्यस्तै, एकीकृत समाजवादीको स्थायी कमिटी ३५ सदस्यीय हुने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाएका छन्। पोलिटब्युरो ७१ सदस्यीय तथा केन्द्रीय कमिटी (पूर्ण र वैकल्पिक) ३०१ सदस्यीय हुने केन्द्रीय कमिटीले निर्णइ गरेको छ।
यस्तै, केन्द्रीय कमिटी बाहेक सबै कमिटीमा दुई उपाध्यक्ष हुनेछन्। पार्टीका सबै कमिटीमा एक तिहाई महिला राख्ने निर्णय गरिएको छ।
एकीकृत समाजवादीको केन्द्रीय परिषद् ७०१ सदस्यीय, आयोगहरु ३५ सदस्यीय, विषयगत विभागहरु बढीमा २५ सदस्यीय, केन्द्रीय सल्लाहकार कमिटी १५१ सदस्यीय र ज्येष्ठ कम्युनिष्ट मञ्च १५१ सदस्यीय बनाउने निर्णय भएको खतिवडाले जानकारी दिएका छन्।