नागरिकता विहीनहरूले राष्ट्रिय जनगणना बहिष्कार गर्ने
नागरिकता विहीन नेपालीहरूले राष्ट्रिय जनगणना २०७८ बहिष्कार गर्ने घोषणा गरेका छन् ।
२५ कात्तिकदेखि ९ मंसीरमा देशभर एकसाथ हुन लागेको जनगणनामा आफूहरूले भाग नलिने उनीहरूको भनाइ छ। जनगणनाका लागि आएका कर्मचारीलाई घरमा प्रवेश नदिने बताएका छन्।
“हामी एकल महिलाका सन्तान अनागरिक भएर बस्नुपरेको छ,” नागरिकता विहीनहरूको समूह ‘नागरिकता विहीन नेपालीहरू’ का संयोजक इन्द्रजित साफी भन्छन्, “बुबा–आमा नेपाली नागरिक हुँदाहुँदै पनि हामी अनागरिक छौं भने यो राष्ट्रिय जनगणनामा हामी सहभागी किन हुने?”
ज्ञान गोष्ठी संवाद श्रृंखलाले बुधबार आयोजना गरेको ‘जन्मभूमिमै अनागरिक ! कतिञ्जेल?’ कार्यक्रममा पनि साफीले जनगणना बहिष्कार गर्ने बताएका थिए ।
देशभर हजारौं संख्यामा रहेका नागरिकता विहीनहरूले जनगणना बहिष्कार गर्ने अभियान नै चलाएका छन्। उनीहरूले ‘२०७८ सालको राष्ट्रिय जनगणना बहिष्कार गरौं’ भनी सामाजिक सञ्जालमा आ–आफ्ना समूहमा प्रचार गरिरहेका छन्। “हामी यो देशको नागरिक नै होइनौं भने जनगणनामा सहभागी हुनुको के काम?” साफी भन्छन्, “सम्पूर्ण नागरिकता विहीन नेपालीमा अनुरोध छ, जनगणनाका लागि आएका कर्मचारीलाई घरमा प्रवेश गर्न निषेध गरौं।”
यसबारे सरकारको ध्यानाकर्षणका लागि राष्ट्रपति कार्यालय सहित विभिन्न जिल्लामा ज्ञापनपत्र बुझाएको साफीको भनाइ छ। “नागरिकता ऐन संशोधन भएन भने हामी आगामी चुनाव पनि हुन दिंदैनौं,” उनी भन्छन्, “हामीले संविधान सम्मत आफ्नो हक–अधिकार मागेका हौं, त्यो कार्यान्वयन होस्। विभेदकारी संविधान छिटोभन्दा छिटो संशोधन होस्।”
‘नागरिकता पीडित संघर्ष समिति’ ले पनि फेसबूक ग्रुपमा ‘संविधान मिचेर नागरिक युवाहरूलाई अनागरिक बनाएर गरिएको जनगणना बहिष्कार गर्छौं’ भनी लेखेको छ। यसका लागि पोस्टर नै बनाएर सामाजिक सञ्जालमा शेयर गरिएको छ।
राष्ट्रिय सभा सदस्य विमला राई पौडेल सहजकर्ता रहेको ज्ञान गोष्ठी संवादमा अभियन्ता दीप्ति गुरुङ, अनागरिक विमला तामाङ, इन्द्रजित साफी, नेत्रीहरू वृन्दा पाण्डे, प्रमिलाकुमारी यादव लगायतले मन्तव्य राखेका थिए।