एमाले सांसदको अवरोधबीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित*
नेकपा (एमाले)का सांसदको होहल्लाबीच प्रतिनिधि सभाले विनियोजन विधेयक (बजेट) पारित गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले २५ भदौमा प्रतिनिधि सभाको बैठकमा चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको प्रतिस्थापन विधेयक पेश गरेका थिए। यस अघि सरकारले ल्याएको अध्यादेशको समय ३० भदौमा सकिएको थियो।
अध्यादेशको समय सकिएसँगै खर्च गर्न बन्देज लागेको थियो। अब राष्ट्रिय सभाले पनि प्रतिस्थापन विधेयक पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सरकारको खर्च गर्ने बाटो फुक्नेछ। ३१ भदौदेखि सरकार बजेट विहिनताको अवस्थामा पुगेको थियो।
प्रमुख प्रतिपक्षी दल एमालेका सांसदको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले बहुमतबाट बजेट पारित भएको घोषणा गरेका थिए।
यस अघिको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट विनियोजन गरेको छ। यसमा चालू खर्च १० प्रतिशतले कटौती गरिएको छ भने आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ।
१५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार, तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश ल्याएका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई अहिले प्रतिस्थापन गरिएको हो।
सच्याइएको *