संविधान संशोधन माग गर्दै बृहत् नागरिक आन्दोलनको मार्च
संविधान संशोधनका लागि दबाब दिन बृहत् नागरिक आन्दोलनले काठमाडौंमा मार्च गरेको छ।
संविधान दिवसको अवसरमा आइतबार नागरिक आन्दोलनले माइतीघर मण्डलदेखि संघीय संसद् भवन नयाँ बानेश्वरसम्म मार्च गरेको हो। संविधानका केही धारा विभेदकारी रहेको जनाउँदै नागरिक आन्दोलनले संशोधन गर्नुपर्ने माग गरेको छ।
नागरिक आन्दोलनले भनेको छ, “संविधान जसरी बनाइयो त्यस प्रति असन्तुष्ट समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने कुनै राजनीतिक प्रक्रिया शुरू गरिएको छैन। संविधान अधुरो र अपुरो छँदै छ, त्यसलाई पूर्ण र स्वामित्व सहितको बनाउन पूरा नभएका मुद्दाहरू सम्बोधन गर्नेतर्फ राज्यको पहल समेत भएको छैन।”