माधव नेपाल सिरक ओढेर रुन्छन् : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल ढुलमुलिँदै खाल्डोमा खसेको बताएका छन्।
शनिबार अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाल र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल उत्ताउलो भएर अगाडि बढेको बताए। दाहाल सम्हालिएको भए पनि नेपाल खाल्डोमा खसेको उनको भनाइ थियो।
नेपालले एमाले विभाजन गरेर १ भदौमा नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन्। त्यसलाई इंगित गर्दै ओलीले खाल्डोमा खसेको बताएका हुन्। “यस्तो खाल्डोमा खसेका छन्, त्यसबाट निस्कनै सक्दैनन्,” ओलीले भने, “माधव नेपाल जब्बर छन्, मान्छे। ती रुन पर्यो भने पनि घरमा गएर सिरक ओढेर रुन्छन्।”
नेपालले बाहिर कमजोर भएको नदेखाउने गरेको उनको भनाइ थियो। “रुनु त रुनै पर्या छ, अरू बाटो छैन, रुन्छन् नै,” ओलीले थपे, “तर, घरमा पुगेर ढोका थुनेर रुन्छन्।”
नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीसँग एकताको सम्भावना रहेको एमालेका केही नेताहरूले बताउँदै आएका छन्। त्यस प्रति इंगित गर्दै ओलीले भने, “माधव नेपाल गुटसँग चुनावमा तालमेल पनि हुँदैन।”
नेपाली कांग्रेसको पछि लागेर उनले कम्युनिष्ट आन्दोनलाई धोका दिएको ओलीको आरोप थियो। “कांग्रेसका पछि लागेर यस पटक वामपन्थी भन्ने सबैको पतन भयो,” ओलीले भने, “माधव नेपाल कम्युनिष्ट होइनन्, प्रतिगामी हुन्।”
कम्युनिष्ट सरकार ढाल्ने, कम्युनिष्ट सरकार विरुद्ध भोट क्रस गर्ने, कम्युनिष्ट सरकार ढाल्न राष्ट्रपति र अदालत जाने काम गरेको उनको भनाइ थियो।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)सँग पनि कुनै तालमेल नहुने उनको भनाइ थियो। पाँच सीट पनि जित्न नसक्ने माओवादीसँग अघिल्लो चुनावमा तालमेल गरेर ठूलो पार्टी बनाएको उनको जिकिर थियो।
फेरि पनि कम्युनिष्ट सरकार ढाल्न कसैसित तालमेल नगरिने उनको भनाइ थियो। उनले माओवादी अध्यक्ष दाहाल पनि कम्युनिष्ट नभएको बताए। ओलीले भने, “कुनै पनि हालतमा प्रचण्ड भन्ने मान्छे कम्युनिष्ट होइनन्, हुन पनि सक्दैनन्।”
उनले राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीमाथि पनि त्यस्तै टिप्पणी गरे। “चित्रबहादुर केसी कालो गोरुलाई चुनाले पोतेर सेतो हुँदैन भन्थे। अहिले कांग्रेसको पछि लागेर सेतो भएको देखियो नि,” ओलीले भने, “बुढेसकालमा हेर्नुस् त, कति साह्रो एक्सपोज भए। कम्युनिष्ट भन्न सुहाउँछ?”
उनले आगामी चुनावमा कुनै पनि पार्टीसँग तालमेल नगरिने बताए। एक्लै चुनावमा जाने र बहुमत प्राप्त गर्ने उनको विश्वास थियो।