सत्तारूढ दलले नै संविधान दिवसको सरकारी कार्यक्रम बहिष्कार गर्ने
सरकारले घोषणा गरेको संविधान दिवस कार्यक्रममा सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा)ले भाग नलिने भएको छ।
संविधान दिवसको पूर्व सन्ध्यामा शनिबार जसपा अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गरि संविधान दिवसमा सहभागी नहुने जनाएका छन्। यादवले भनेका छन्, “संविधानमा धेरै धाराहरूमा विभेदकारी प्रावधानहरू राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने।”
बरु यसको विरोध गर्ने जसपाले जनाएको छ। त्यसका लागि देशका प्रमुख शहरहरूमा दबाबमूलक कार्यक्रम गर्ने भएको छ।
जसपाले भनेको छ, “संविधानमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि उक्त दिन अर्थात् असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरूमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानहरूको विरोध गर्न आम जनसमुदाय एवं सम्पूर्ण पार्टी संगठनहरूलाई आह्वान गरिन्छ।”
सत्तारूढ दलका नेता यादवले संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरण लगायत प्रावधानहरू अधुरो र अपूर्ण रहेको जनाएका छन्।
नेपालको संविधान, २०७२ ले मधेशी, आदिवासी जनजाति, दलित/शिल्पी, महिला, खस, मुस्लिम, थारू, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको जसपाले जनाएको छ।