संविधान संशोधनका लागि बृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने
संविधान संशोधनका लागि दबाब दिन बृहत् नागरिक आन्दोलनले संविधान दिवसका दिन काठमाडौंमा मार्च गर्ने भएको छ।
३ असोजमा माइतीघर मण्डलदेखि नयाँ बानेश्वरस्थित संसद् भवनसम्म मार्च गर्ने बृहत् नागरिक आन्दोलनले जनाएको छ। बृहत् नागरिक आन्दोलनले शुक्रबार अपील जारी गर्दै मार्चमा सहभागी हुन आग्रह गरेको छ।
अपीलमा भनिएको छ, “जनताका नैसर्गिक हक अधिकार संविधान मार्फत हासिल गर्न ३ असोजमा संविधान संशोधनको आवाज बुलन्द गरौं। जनदबाबबाट मात्र जनाकांक्षाहरू सुनुवाइ गराउन सकिने हुनाले सबै संघर्षशीलहरूबीच उक्त दिन बृहत् ऐक्यबद्धता प्रदर्शित गर्दै आफ्ना असहमति र विरोध संगठित रूपमा प्रकट गरौं।”
सामाजिक न्याय सहितको उन्नत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संविधान संशोधन गर्न दबाब दिन लागिएको जनाइएको छ।
अपीलमा भनिएको छ, “संविधान जसरी बनाइयो त्यस प्रति असन्तुष्ट समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने कुनै राजनीतिक प्रक्रिया शुरू गरिएको छैन। संविधान अधुरो र अपुरो छँदै छ, त्यसलाई पूर्ण र स्वामित्व सहितको बनाउन पूरा नभएका मुद्दाहरू सम्बोधन गर्नेतर्फ राज्यको पहल समेत भएको छैन।”