एमालेको विधान महाधिवेशन सर्यो
नेकपा (एमाले)को विधान महाधिवेशन १० दिन पछि सरेको छ।
शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले समय अभावका कारण विधान महाधिवेशन सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। उनको अनुसार विधान महाधिवेशन १५ देखि १७ असोजमा हुने भएको छ। यसअघि ४ देखि ६ असोजमा गर्ने निर्णय गरिएको थियो।
काठमाडौंमा हुने विधान महाधिवेशनमा केन्द्रीय कमिटी, प्रदेश कमिटी र विशेष कमिटीका पदाधिकारी र सदस्य सहभागी हुनेछन्। त्यस्तै, जिल्ला कमिटीका पदाधिकारी र सदस्य पनि विधान महाधिवेशनमा भाग लिनेछन्। यो सबै गरेर करीब तीन हजार प्रतिनिधि सहभागी हुने उनले बताए।
विधान महाधिवेशनमा पेश हुने दस्तावेजमाथि छलफल गर्न ३ र ४ असोजमा स्थायी कमिटी बैठक बस्ने भएको छ। स्थायी कमिटी बैठकले विधान, राजनीतिक र सांगठनिक प्रस्तावमाथि छलफल गर्ने जनाइएको छ।
स्थायी कमिटीले पारित गरेका प्रस्तावमाथि थप छलफल गर्न ८ र ९ असोजमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका अजेन्डामाथि छलफल हुने उनले बताए।
यससँगै एमाले स्थायी कमिटीले संसद्मा जारी विरोध यथावत राख्ने निर्णय गरेको छ। सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै विरोधलाई यथावत राख्ने निर्णय गरिएको उनले बताए।
संसद्मा हुने विरोधलाई भने अबदेखि मर्यादित बनाउने एमालेले निर्णय गरेको भट्टराईले बताए। यसका लागि आइतबार मध्याह्न १२ बजे संसदीय दलको बैठक बोलाएको छ। बैठकमा सांसदहरूलाई संसदीय मूल्यमान्यतामा रहेर कसरी विरोध जनाउने भन्ने विषयमा जानकारी दिइने उनले बताए।