पाँच प्रदेशका ३६ सांसद नयाँ पार्टीमा, कुन प्रदेशमा कति?
पाँच प्रदेशका ३६ जना सांसदले नेकपा (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। अझै दुई वटा प्रदेशमा रोज्न बाँकी छ।
बिहीबारसम्म गण्डकी र प्रदेश २ बाहेक पाँच वटा प्रदेशका ३६ जना एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा १२ सांसदले एकीकृत समाजवादीमा गएका छन्।
बागमती प्रदेश सभामा एमालेका ५६ जना सांसद निर्वाचित थिए। कोरोनाभाइरस संक्रमणबाट दोलखाका सांसद पशुपति चौलागाईंको निधन भएकाे थियाे। बाँकी ५५ जनामध्ये १२ जना नयाँ पार्टीमा लागेका हुन्।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सभामा एमालेका २४ सांसद निर्वाचित थिए। तीमध्ये १० जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। अझै केही सांसद नयाँ पार्टीमा आउने एकीकृत समाजवादीकी नेत्री पूर्णा जोशीले बताइन्।
प्रदेश १ का पनि १० सांसदले नयाँ पार्टी रोजेका छन्। नयाँ पार्टीमा सनाखत गर्ने सांसदमा राजेन्द्र राई, राजन राई, गणेश काम्बाङ्ग, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन्।
अझै पाँचदेखि सात जनासँग सल्लाह भइरहेको सांसद राजेन्द्र राईले बताए। याेसँगै प्रदेश १ मा भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ।
प्रदेश १ मा एमालेका ५१ सांसद निर्वाचित भएका थिए। जसमध्ये १० जनाले नयाँ पार्टी रोजेपछि प्रदेश सरकार अल्पमतमा परेको छ।
यसैगरी कर्णाली प्रदेशका तीन जना सांसद नयाँ पार्टीमा गएका छन्। सांसद देवी ओली, चन्द्रबहादुर शाही र पदमबहादुर रोकायाले एकीकृत समाजवादीमा सनाखत गरेका छन्।
कर्णाली प्रदेशमा एमालेका २० सांसद निर्वाचित थिए। तीमध्ये माधवकुमार नेपाल पक्षका चार जना सांसदलाई अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेका थिए। बाँकी १६ जनामध्ये पनि तीन जनाले नयाँ पार्टी रोजेका हुन्।
लुम्बिनीमा भने एमालेका एक सांसदले मात्रै नयाँ पार्टी रोजेका छन्। उपसभामुख रमा घर्तीमगरले एकीकृत समाजवादीमा सनाखत गरेकी हुन्।
प्रदेश २ मा एमाले सांसदले आज सनाखत गर्दै छन्। कम्तीमा १३ जनाले नयाँ पार्टी रोज्नसक्ने जनाइएको छ।
त्यस्तै, गण्डकी प्रदेशका सांसदले पनि केही दिनमै सनाखत गर्ने भएका छन्। अहिलेसम्म गण्डकीका सांसद खुलेका छैनन्।