प्रदीप नेपालले किन छाडे माधव नेपालको साथ?
नेकपा (एकीकृत समाजवादी)का नेताहरूमध्ये चौथो वरीयतामा रहेका प्रदीप नेपालले आफू कुनै पनि पार्टीमा नरहेको बताएका छन्।
९ भदौमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा उपस्थित भएका उनले सोमबार एकीकृत समाजवादी छाडेको घोषणा गरेका हुन्। “जनताको बहुदलीय जनवाद (जबज)लाई स्थान नदिएपछि एकीकृत समाजवादी छाडेको हुँ,” पार्टी छाड्नुको कारण खुलाउँदै नेता नेपालले हिमालखबरसँग भने, “जबज जहाँ हुन्छ, म पनि त्यहीं हुन्छु।”
एकीकृत समाजवादी छाडे पनि आफू कतै नलागेको नेता नेपालको भनाइ छ। “नेकपा (एकीकृत समाजवादी) गठनका वेला पनि मैले जबज निर्देशक सिद्धान्त नभएको पार्टीमा बस्न सक्दिनँ भनेको थिएँ,” नेपालले भने, “अब म कुनै पनि पार्टीमा छैन।”
एकीकृत समाजवादीका एक नेताले भने उनी पार्टीबाट अलग हुनुमा सैद्धान्तिक कारण प्रमुख नभएको दाबी गर्छन्। नाम उल्लेख गर्न नचाहने ती नेता भन्छन्, “प्रदीप कमरेडलाई चित्त बुझ्ने गरी नेतृत्व व्यवस्थापन गर्न सकेनौं।”