जनप्रतिनिधिलाई एमाले र जसपा छाड्ने म्याद २२ भदौसम्म
नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालका जनप्रतिनिधिलाई दल त्याग गर्न २२ भदौसम्मको समय दिइएको छ।
निर्वाचन आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) अनुसार जनप्रतिनिधिलाई एमाले र जसपा छोड्न २२ भदौसम्मको म्याद दिने निर्णय गरेको हो। अब एमाले र जसपाका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा जान पाउने भएका छन्।
एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको छ। आयोगको यो निर्णयसँगै अब नयाँ पार्टीमा जाँदा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई एमाले र जसपाले कारबाही गर्न पाउनेछैनन्।
आयोगको निर्णयमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दलबाट निर्वाचित प्रदेश सभा सदस्य तथा स्थानीय तहका सदस्यले नयाँ गठन भएको दलमा प्रवेश गर्न चाहेमा नयाँ दल गठन भएको मितिले २१ दिनभित्र (मिति २०७८/५/२ देखि मिति २०७८/५/२२ सम्म) प्रदेश सभाका सदस्यले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका सदस्यले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र स्वयं उपस्थित भई सनाखत गर्ने।”