प्रदेश २ मा मन्त्रीको जिम्मेवारी हेरफेर
प्रदेश २ का दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ।
अर्थ मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादवलाई दिएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट हटाएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको पत्र प्राप्त भएको मन्त्री साहले बताए। अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो।
कृषिमन्त्री साहको काम सन्तोषजनक नदेखिएको र राज्यमन्त्री योगेन्द्र यादवसँग विवाद बढेपछि जिम्मेवारी हेरफेर गरिएको जनाइएको छ। त्यस्तै, यादव र मुख्यमन्त्री राउतबीच पनि विवाद देखिएको थियो।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेर मन्त्रीहरू हेरफेर गरिएको जनाइएको छ।