एक कार्यकाल भन्दा बढी अध्यक्ष पदमा बस्दिनँ : नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक कार्यकाल भन्दा बढी अध्यक्ष पदमा नबस्ने घोषणा गरेका छन्।
शनिबार ललितपुरमा आयोजित पेशागत महासंघको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जसरी पनि कुर्सीमा बस्न नखोज्ने बताए। “जसरी पनि सत्तामा, कुर्सीमा टिकिरहने गरी बसिनेछैन,” अध्यक्ष नेपालले भने, “एक कार्यकाल भन्दा बढी म पार्टीको नेतृत्वको अध्यक्ष पदमा बस्नेवाला छैन।”
अध्यक्ष नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै भने, “यो अरूको जस्तो नक्कली घोषणा होइन।”
अन्य पार्टीमा जस्तो वर्षौंवर्ष एउटै व्यक्तिले नेतृत्वमा बस्नुपर्ने अवस्था नयाँ पार्टीमा अन्त्य हुने उनको भनाइ थियो। “नयाँ पुस्ताका व्यक्ति योग्य र सक्षम बन्दै आउँदै छन्। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानेछौं,” नेपालले भने।
उनले एमालेमा भएका कमी–कमजोरी एकीकृत समाजवादीमा नदोहोरिने बताए। “यो पार्टी पुरानो भइसकेको एमाले भन्दा भिन्न हुनेछ। त्यसका गल्ती कमजोरीबाट मुक्त हुनेछ,” नेपालले भने।
यससँगै पार्टीमा सामूहिक नेतृत्व प्रणालीलाई अवलम्बन गरिने नेपालको भनाइ थियो। त्यसमा पनि युवालाई प्राथमिकतामा राखिने उनले बताए।
उनले एमाले बस्ने कि एकीकृत समाजवादीमा लाग्ने भन्ने दोधारमा नरहने नेता-कार्यकर्तालाई आग्रह गरे। “दुई नाउमा खुट्टा नराख्नुस्, मध्यमार्गी कोही नबन्नुस्। एउटा नाउमा खुट्टा राख्नुस्, सागर पार गरिन्छ,” नेपालले भने, “आत्तिनुपर्ने केही छैन। सबै भन्दा सही बाटोमा हामी छौं।”
उनले एमाले अध्यक्ष ओलीलाई अझै पनि सच्चिन आग्रह गरे। “अहिले पनि भन्छु, केपी ओलीजी सुध्रिनुस्, प्रतिगमनको क्रियाकलापप्रति आत्मालोचना गर्नुस्।”