कांग्रेस सभापतिमा उठ्न लागेका निधिलाई क्रियाशील सदस्य भन्दा धर्मगुरुमाथि भरोसा!
पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनका लागि सम्पर्क कार्यालय खोलेका छन्।
आउँदो मंसीरमा हुने भनिएको महाधिवेशनलाई लक्षित गरेर उनले काठमाडौंको थापागाउँमा शुक्रबार सम्पर्क कार्यालय खोलेका हुन्। कार्यालय उद्घाटनका क्रममा निधिले नेता-कार्यकर्ता भन्दा बढी धर्मगुरुहरूमा विश्वास रहेको संकेत गरे।
सम्पर्क कार्यालयमा पूजा गर्न उनले पशुपतिनाथका भण्डारी, जानकी मन्दिरका महन्थहरू, दक्षिणकाली, सूर्यविनायक मन्दिर र डोलेश्वर महादेवका पूजारी तथा पञ्चमहालक्ष्मी (भक्तपुर), स्वामी कमलनारायण आचार्यका प्रतिनिधिलाई बोलाएका थिए।
यस्तै, बुद्ध धर्मका लामाहरूलाई २१ ताराको पूजा गर्न लगाएका थिए। कार्यक्रममा मुस्लिम धर्मका मौलानाहरूलाई पनि बोलाइएको थियो।
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष, राजयोग ज्योतिषीलाई बोलाएर कार्यालय उद्घाटन गरिएको थियो। निधिकै जिल्लावासी ज्योतिषी कीर्तिकान्त झाले भने फोनबाटै शुभकामना दिएका थिए।
मन्तव्य सुन्दा पनि निधिलाई साढे आठ लाख क्रियाशील सदस्य भन्दा पनि धर्मगुरुहरूको कृपामा विश्वास भए जस्तो देखिन्थ्यो।