नेता-कार्यकर्तालाई एकीकृत समाजवादीमा आउन माधव नेपालको अपील
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का नेता-कार्यकर्तालाई आफ्नो पार्टीमा आउन अपील गरेका छन्।
नयाँ पार्टी गठनपछि बिहीबार पत्रकार सम्मेलन गरेर अध्यक्ष नेपालले आफ्नो पूर्व नेता-कार्यकर्तालाई समाजवादीमा आउन अपील गरेका हुन्। एमालेको पुनर्गठन गरेर एकीकृत समाजवादी पार्टी बनाएकाे बताउँदै नेपालले भने, “‘दुई-दुई पटक प्रतिनिधि सभा विघटन गरी प्रतिगामी कदम चालेको मान्छेको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहित हुन आग्रह गर्दछु।”
गत चैतमा नै देशभरका नेता-कार्यकर्ताले नयाँ पार्टी गठन गर्न सुझाव दिएको भए पनि कार्यकर्ता र जनप्रतिनिधिको सुरक्षालाई ध्यानमा राखेर हतार नगरेको उनले बताए। नेपालले भने, “हजारौं हजार कार्यकर्ताको सुरक्षाबारे सोच्नुपर्ने हुन्थ्यो। संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका कार्यकर्ताको भविष्यको चिन्ता गर्ने भएकाले हामीले तत्कालै नयाँ पार्टी खोलेनौं।”
अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको भविष्य सुनिश्चित भएको उनको भनाइ थियो। “अहिले परिस्थितिमा परिवर्तन भयो। संवैधानिक अनुकूलता प्राप्त भयो। एउटा निकास पायौं। हामी सबै कार्यकर्तालाई सुरक्षा गर्न सक्ने भयौं,” नेपालले नेता-कार्यकतालाई आह्वान गरे, “अब निर्धक्क भएर एकीकृत समाजवादीमा आउन, नयाँ क्रान्तिकारी धारमा समाहित हुन आग्रह गर्दछु।”
यसअघि कार्यकर्ता र जनप्रतिनिधिको सुरक्षाका लागि पर्खिंदा नयाँ पार्टी दर्ता गराउनेहरू नै अहिले एमालेमा फर्किएको उनको भनाइ थियो। त्यति वेला गठन गरिएको पार्टी निर्वाचन आयोगमा दर्ता समेत रहेको उनले उल्लेख गरे।
तर, उनीहरूसँग आफ्नो कुनै गुनासो नभएको नेपालको भनाइ थियो। त्यति वेला एमाले अध्यक्ष केपी शर्मा ओलीको विरुद्ध बोल्ने, नयाँ पार्टी खोल्न दबाब दिनेहरू नै अहिले छोडेर गएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “थाक्नेहरू थाकिरहन्छन्, मेरो केही गुनासो छैन।”
समाजवादी पार्टी नाम राखेको भए पनि कम्युनिष्ट पार्टीलाई छोडेर नजाने उनको भनाइ थियो। “नेपाल कम्युनिष्ट पार्टी छोडेर जाँदैनौं। यो लोकप्रिय पार्टी हो, नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय छ,” नेपालले भने।
पाँच दलीय गठबन्धन अघि बढ्ने नेपालले बताए। यसअघि एमालेमै रहेकाले बोल्न अप्ठ्यारो भएको बताउँदै उनले अब नयाँ दल गठन भएसँगै पाँच दलीय गठबन्धन अघि बढाइने बताए।