पार्टी विभाजनपछि ओलीले बोलाए केन्द्रीय कमिटी बैठक
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएसँगै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई निर्वाचन आयोगले बुधबार मान्यता दिएको छ। औपचारिक रूपमा एमाले विभाजन भएपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।
आज दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमाले केन्द्रीय कमिटी बैठक बस्नेछ।
यसअघि ८ भदौमा एमाले स्थायी कमिटी बैठक बसेको थियो। स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्दै एमाले राष्ट्रिय महाधिवेशन मंसीरमा गर्ने निर्णय गरेको थियो।
एमाले एकताका लागि १० बुँदे कार्यान्वयन भएको जनाउँदै नेपाल पक्षमा उभिंदै आएका दोस्रो पुस्ताका १० जना नेता पनि स्थायी कमिटी बैठकमा सहभागी भएका थिए।
स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको एक नेताले बताए। उनका अनुसार, पार्टी विभाजनपछिको अवस्थाका विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने भएको छ।