झलनाथ खनालले दिल्लीबाटै गरे सनाखत
पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी)को पक्षमा भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट सनाखत गरेका छन्।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगले आज सनाखत गरिरहेको छ। उपचारका क्रममा नयाँदिल्लीमा रहेका खनालले नेपाली राजदूतावास पुगेर सनाखत गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बताए।
निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले भने, “जेएन कमरेडले दिल्लीस्थित दूतावासबाट सनाखत गर्नुभएको छ।”
एकीकृत समाजवादीको केन्द्रीय सदस्यको सूचीमा खनालको नाम पनि छ। उनी उपचारका लागि एक महीनादेखि नयाँदिल्लीमा छन्।
२ भदौमा निवेदन दिएका ५८ जना केन्द्रीय सदस्यको आज आयोगले सनाखत गरिरहेको छ। नेपाल सहित नेताहरू निर्वाचन आयोगमा सनाखत गरिरहेका छन्।