तेस्रो धारका नेताहरू ओली पक्षको बैठकमा सहभागी हुने
पार्टी संस्थापनसँग फरक मत राख्दै आए पनि नेकपा (एकीकृत समाजवादी) गठनमा नलागेका तेस्रो धारका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले आह्वान गरेको स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन्।
दश बुँदे कार्यान्वयन लगायतका विषयमा ओली निवास बालकोटमा सोमबार भएको छलफलपछि उनीहरू स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका हुन्।
बैठकपछि एमाले सचिव योगेश भट्टराईले दश बुँदे कार्यान्वयनका विषयमा पार्टी अध्यक्ष ओलीसँग सहमति भएको बताए। उनले भने, “दश बुँदे कार्यान्वयनको ठोस मोडालिटी बनाउन भोलि नै स्थायी कमिटीको बैठक आह्वान गर्ने र त्यसले दश बुँदे कार्यान्वयनको तिथिमिति सहितका योजनाहरू अगाडि सर्ने र त्यस लगत्तै केन्द्रीय कमिटी बैठक आह्वान हुन्छ।”
स्थायी कमिटी बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। केन्द्रीय कमिटी बैठकको मिति भने तोकिएको छैन।
ओली पक्षका नेताहरूले तेस्रो धारका सबै नेताहरू एमालेमै रहने बताएका छन्। “दश बुँदे अनुमोदन भइसकेको छ, त्यसलाई कार्यान्वयनको प्रक्रियामा लैजाने कुरा हो,” एमाले स्थायी समिति सदस्य सुवास नेम्वाङले भने, “साथीहरू एमाले छोडेर जानुहुन्न, पार्टीमै रहनुहुन्छ।”
यसअघि माधव नेपाल समूहमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम आचार्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायतका नेताहरू एकीकृत समाजवादी गठन प्रक्रियामा सहभागी छैनन्।