माओवादीमा केन्द्रीय सदस्य छान्न सकस, तोकिए प्रदेश इन्चार्ज
नेकपा (माओवादी केन्द्र)मा थप गर्न लागिएकाे २३ केन्द्रीय सदस्य छनाेटमा सकस परेको छ।
आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा ६० जनाको नाम आएको एक नेताले जानकारी दिए। उनले भने, “तीन गुणा बढी नाम आएपछि आजको बैठकले केन्द्रीय सदस्यको नाम टुंगो लगाउन सकेन।”
बैठकले सातमध्ये ६ वटा प्रदेश इन्चार्ज भने तोकेको छ। प्रदेश–२ मा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज अधिकारी चयन भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
बैठकले प्रदेश–१ को इन्चार्ज भने चयन गर्न सकेन। प्रदेश–१ मा सावित्री काफ्ले वा सुरेन्द्र कार्कीमध्ये एक जना इन्चार्ज बन्न सक्ने एक स्थायी कमिटी सदस्यले बताए।
जिल्ला समन्वय कमिटीको इन्चार्ज तोक्ने जिम्मेवारी सम्बन्धित प्रदेश कमिटीलाई दिइएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।