‘अलमलमा रहेका नेताहरू एकीकृत समाजवादीमै आउँछन्’
नवगठित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले अहिले अलमलमा रहेका नेकपा (एमाले)का दोस्रो पुस्ताका नेताहरू आफ्नो पार्टीमा आउने बताएका छन्।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको छ। अहिले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ताको प्रक्रियामा छ। एमालेबाट आएका केन्द्रीय सदस्यको सनाखत गर्न आयोगले ९ भदौमा बोलाएको छ।
त्यस लगत्तै एमाले दोस्रो पुस्ताका नेता एकीकृत समाजवादीमा आउने चौधरीले बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले भने, “पाँच दिनभित्र सबै जना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ।”
नेपाल पक्षका नेताहरू भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायत एमाले एकताका लागि भन्दै कतै लागेका छैनन्। उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल लगायत १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिएर २ जेठ २०७५ को अवस्थामा फर्कन दबाब दिँदै आएका छन्। त्यस्तै, नेपाललाई पनि नयाँ पार्टी दर्ताको प्रक्रिया फिर्ता लिन जोड गरिरहेका छन्।
नयाँ पार्टी आयोगमा दर्ता हुने बित्तिकै उनीहरू आउने चौधरीको भनाइ छ। “बम, गोला, बारुद पड्किएको वेला निकै थोरै मान्छे मात्रै फ्रन्टलाइनमा उभिन तयार हुन्छन्, निष्कर्षमा भन्नुपर्दा अहिले एमालेका दोस्रो पुस्ताका नेताहरू पनि पाँच दिनभित्रै हामीसँग आउनुहुन्छ,” चौधरीले भने।
एकीकृत समाजवादी पार्टी छिटै सरकारमा जाने उनको भनाइ थियो। निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिए लगत्तै सरकारमा सहभागी हुने उनले बताए।
चौधरीले भने, “निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ। त्यसपछि दल दर्ताको प्रमाणपत्र प्राप्त हुन्छ। हामी सरकारमा जाने ढोका खुल्छ।”
एमाले अध्यक्ष ओलीको अहंकारले नयाँ पार्टी गठन गर्न बाध्य भएको उनको भनाइ थियो। ओलीको नेतृत्वमा एमालेले मुलुकका समस्या समाधान गर्न नसक्ने भएपछि एकीकृत समाजवादी पार्टी गठन गरिएको उनले बताए।