‘ओलीले १४ सांसदमाथिको कारबाही र नेपालले दल दर्ताको निवेदन फिर्ता गर्नुपर्छ’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पक्षमा नलागेका एमाले नेताहरूले पार्टी एकतामा जोड दिएका छन्।
शुक्रबार, काठमाडौंमा बसेको बैठकबारे जानकारी दिंदै एमाले उपाध्यक्ष भीम रावलले भने, “नयाँ पार्टी बनाउन निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता हुनुपर्छ र १४ जना सांसदमाथि गरिएको कारबाही पनि खारेज हुनुपर्छ।”
ओली र नेपाल दुवै पक्षका नेता सम्मिलित कार्यदलले गरेको १० बुँदे सहमति अक्षरशः पालना गरेर पार्टी एकता जोगाउनुपर्नेमा रावलको जोड छ।
एमाले सचिव गोकर्ण विष्टले पार्टी फुट्न नदिन ओली र नेपाल दुवैलाई भेटेरै दबाब दिन लागेको बताए। आफूहरू अन्तिम समयसम्म पनि एकताको पक्षमा लाग्ने उनको भनाइ छ।
बैठकमा उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायत ५७ जना केन्द्रीय नेता तथा सांसद सहभागी रहेको विष्टले जानकारी दिए।