एमाले समाप्त पार्न खोजेपछि बाध्य भएर नयाँ पार्टी गठन गरेका छौं : नेपाल
नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाध्य भएर नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन्।
नेपालले २ भदौमा नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसमा नाम मिल्दोजुल्दो भएको भन्दै आयोगले अर्को नाम राख्न सुझाएको थियो।
त्यसपछि शुक्रबार नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि नेपाल पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ। नयाँ पार्टी दर्ताको प्रक्रियामा गएपछि अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबूक मार्फत नयाँ पार्टी गठन गर्नु बाध्यता भएको बताएका हुन्।
नेपालले भनेका छन्, “एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवं समाप्त पार्ने कोशिश भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं।”
नयाँ पार्टीलाई आम नेपाली जनताबाट सहयोग हुने अपेक्षा राखेको जनाएका छन्। “नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको संस्कृति एवं समृद्धिका लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौं,” नेपालले भनेका छन्।
एकीकृत समाजवादी पार्टीमा नेता र कार्यकर्तालाई थप्दै जाने बताएका छन्। अहिले दर्ताका लागि सबैलाई समावेश गरेर केन्द्रीय कमिटी प्रस्ताव गरेको उनको भनाइ छ।
नेपालले भनेका छन्, “हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरू, २०७५ जेठ ३ गते पार्टी एकता गर्ने वेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरू, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरू, संघीय संसद्का सांसद कमरेडहरू एवं वैधानिक प्रावधान अनुसार पुर्याउनुपर्ने महिला कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौं।”
अध्यक्ष नेपालले पार्टी दर्ता भएपछि राष्ट्रिय भेला तथा सम्मेलन गर्ने समेत जनाएका छन्। “हाम्रो दर्ता प्रक्रिया वैधानिक रूपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवं योग्य कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौं,” नेपालले भनेका छन्।