नयाँ पार्टीमा गएका नेतालाई एमालेमा फर्किन ओलीको अपील
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले नेतृत्व गरेको नयाँ पार्टीमा गएका आफ्नो नेता तथा कार्यकर्तालाई एमालेमै फर्किन अपील गरेका छन्।
नेपालको नेतृत्वमा बुधबार नेकपा (एमाले समाजवादी) पार्टी गठन गरिएको छ। एमाले समाजवादीले पार्टी दर्ताका लागि बुधबार नै निर्वाचन आयोगमा निवेदन दिएको छ।
एमाले विभाजन भएको भोलि पल्ट बिहीबार भक्तपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेता तथा कार्यकर्तालाई एमालेमै फर्किन अपील गरेका हुन्। आयोगमा दर्ता गराउन दिएको सूचीमा नाम भएका नेतालाई ओलीले भने, “त्यो लिस्टमा नाम भएका साथीहरूलाई त्यो लिस्टमा आफू नभएको कुरा अप्ठ्यारो नमानी घोषणा गर्नुस्, पार्टीमा आउनुस्। देशको भविष्य बनाऔं, आफ्नो भविष्य पनि बनिहाल्छ।”
उनले अलमलमा परेका नेता तथा कार्यकर्तालाई पनि एमालेमा आउन आग्रह गरेका छन्। ओलीले भने, “अलमलमा परेका, भ्रममा परेका साथीहरूलाई पनि आउन र पार्टीको काममा लाग्न आह्वान गर्दछु।”
नेपालले गठन गरेकाे नयाँ पार्टीलाई एमालेसँग तुलनै गर्न नहुने उनको भनाइ थियो। “यो पार्टी यसै पनि देशको प्रमुख पार्टी हो। यो प्रमुख मात्रै होइन, अतुलनीय, असाधारण पार्टी हो। यो पार्टीसँग अरूको तुलनै हुँदैन,” ओलीले भने।
नेपालले एमालेको नेतृत्व गर्दा पार्टी गन्तव्य नै यकिन नभएको उनको भनाइ थियो। “पार्टीको नीति के हो? गन्तव्य के हो?” ओलीले भने, “देशभर ठूलो भेला त हुनै छोडेको थियो।” आफूले पार्टीलाई अहिलेको स्वरूपमा ल्याएको उनको दाबी थियो।
अहिले नेपालले बनाएको पार्टी जनताका लागि नभएर एमालेलाई सिध्याउनका लागि बनाइएको आरोप थियो। सत्ताधारी गठबन्धनको गलत मनसायले नयाँ पार्टी बनाएको आरोप लगाउँदै ओलीले एमालेलाई अझै गतिशील बनाउने बताएका छन्।