अजेन्डा नमिलेपछि माधव नेपालको साथ छोड्यौं : भीम आचार्य
नेकपा (एमाले) का सचिव भीम आचार्यले माधवकुमार नेपालसँग अजेन्डा नमिलेपछि साथ छोडेको बताएका छन्।
नेपालले एमालेबाट छुट्टिएर बुधबार नेकपा (एमाले समाजवादी) पार्टी गठन गरेका छन्। उनले नयाँ पार्टी गठन गरेसँगै आचार्य लगायत केही नेताले साथ छोडेका हुन्।
लामो समयदेखि नेपालको पक्षमा रहेका आचार्यले अजेन्डा नमिलेपछि साथ दिन नसकिएको बताएका छन्। “माधव नेपाललाई साथ दिएको अनुहार राम्रो भनेर होइन। उहाँलाई साथ दिएको अजेन्डा मिलेर हो,” आचार्यले हिमालखबरसँग भने, “हामी विभाजन गर्न हुँदैन भन्नेमा थियौं, उहाँ विभाजन गरेर जानु भएपछि अजेन्डा नै मिलेन। अजेन्डा नमिलेपछि आ-आफ्नो ढंगले चलियो। अजेन्डा मिलेर साथमा थियौं, अजेन्डा मिलेन फरक भयौं।”
नेपाल पक्षका केही नेताहरू पार्टी विभाजनको विपक्षमा उभिंदै आएका थिए। उनीहरू १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्नुपर्ने पक्षमा थिए।
अध्यक्ष केपी शर्मा ओलीले नेपाल सहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरेका थिए। यसअघि नेपाल पक्षमा रहेका आचार्य लगायत १० बुँदे सहमति कार्यान्वयन गरेर जानुपर्ने पक्षमा रहेका नेताहरूलाई भने कारबाही गरिएको थिएन।
आफूले बनाएकै पार्टीमा बसेको आचार्यको भनाइ छ। “हामीले बनाएको पार्टी एमाले हो, यो कुनै नेताको पार्टी होइन। आफूले बनाएको पार्टीमा नबसेर कहाँ बस्ने त?” आचार्यले भने।
नेपालले नयाँ पार्टी गठन गरेपछि विगतमा उनको साथमा रहेका नेताहरू अब संयुक्त बैठक गरेर १० बुँदे सहमति कार्यान्वयन गरी जानुपर्ने पक्षमा देखिएका छन्। एक-दुई दिनमै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी रहेको जनाइएको छ। त्यसका लागि आन्तरिक छलफल चलिरहेको छ।
आचार्यसँगै भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, अरुण नेपाल, यज्ञराज सुनुवार, नरेश खरेल, केदार न्यौपाने, सोमप्रसाद पाण्डे, अमृत बोहरा लगायत ३७ जना केन्द्रीय सदस्यले अन्तिम समयमा नेपालको साथ छोडेका हुन्।