पारसको सम्मानमा क्यानले ‘७७’ नम्बर जर्सी प्रयोगमा नल्याउने
राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काको सम्मानमा नेपाल क्रिकेट संघ (क्यान)ले ‘७७’ नम्बर जर्सी प्रयोगमा नल्याउने भएको छ।
अब ‘७७’ नम्बर जर्सी कुनै खेलाडीलाई नदिने क्यानले निर्णय गरेको छ। २१ साउनमा बसेको बैठकले पारसप्रति सम्मान जनाउँदै यो निर्णय गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए।
“पारसले नेपाली क्रिकेटमा दिएको योगदानको कदर गर्दै ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने निर्णय गरेका छौं,” महासचिव प्याकुरेलले हिमालखबरसँग भने, “खेल क्षेत्रमा यस्तो प्रचलन रहेको छ, यो ठूलो सम्मान पनि हो।”
पारसले ७७ नम्बरको जर्सी प्रयोग गर्दै आएका थिए। उनले १९ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका थिए।
उनले यो जर्सी नम्बर छनोट गर्नुमा पनि रोचक संयोग छ। उनी ७ कात्तिकमा जन्मिएका थिए। कात्तिक सातौं महीना र ७ गते भएकाले ७७ नम्बर रोजेको उनले भनाइ छ।
यससँगै उनी ७ नम्बरलाई ‘लक्की’ नम्बर पनि मान्छन्। उनी राष्ट्रिय टोलीका सातौं कप्तान हुन्। उनीभन्दा अघि उत्तम कर्माचार्य, लेखबहादुर क्षेत्री, पवन अग्रवाल, राजु खड्का, परेश लोहनी र विनोद दास कप्तान भएका थिए।
उनको पहिलो अन्तर्राष्ट्रिय शतक पनि ७७ बलमा बनेको थियो। उनले सन् २०१२ को एसिसी ट्रफीमा कुवेत विरुद्ध ७७ बलमा नटआउट १०६ रन बनाएका थिए। त्यसयता राष्ट्रिय टोलीबाट पाँच शतक बनाएका छन्।
अब कसैले पनि ७७ नम्बर भन्दा पारसलाई सम्झिन सकून् भनेर यो जर्सी नम्बर अरूलाई नदिने निर्णय गरिएको महासचिव प्याकुरेलले बताए। “धेरैले पारसलाई अबिर जात्रा गरेर शहर घुमाउनुपर्छ भनेका थिए। कार्यक्रम गरेर फूलमाला लगाएर सम्मान गर्नुपर्छ भनेका थिए, हामीले भने सधैंभरि रहिरहने गरी यो सम्मान दिने निर्णय गर्यौं,” प्याकुरेलले भने।
सन् २००२ बाट क्रिकेट खेल्न थालेका पारसले दुई वर्षअघि राष्ट्रिय टोलीको कप्तानी छाडेका थिए। अहिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका उनले अब क्यानमा आउने बताएका छन्।