एमालेमै रहेको लुम्बिनी प्रदेश सांसद विमला ओलीको प्रष्टोक्ति
लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री ओलीले आफू नेकपा (एमाले) मै रहेको जनाएकी छिन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद ओलीले नेकपा (माओवादी केन्द्र)मा नलागेको स्पष्ट पारेकी छिन्। उनले भनेकी छिन्, “मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानूनी रूपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु।”
विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको जनाउँदै मिलिजुली सरकार गठनका लागि आह्वान गर्न माग गर्दै सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएका थिए। विपक्षी गठबन्धनका ४१ सांसदमा ओलीको पनि नाम रहेको थियो।
विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई निवेदन दिए लगत्तै सांसद ओलीले प्रेस विज्ञप्ति जारी गरेकी हुन्।
२०७४ को निर्वाचनमा दाङ ३ (ख) बाट उत्तरकुमार ओली निर्वाचित भएका थिए। उनको सडक दुर्घटनामा निधन भएको थियो।
त्यसपछि भएको उपनिर्वाचनमा नेकपाबाट ओली निर्वाचित भएकी हुन्। सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि उनले माओवादी रोजेकी थिइन्।
अहिले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेपछि उनले एमाले रोजेको बताएकी हुन्। उनले समर्थन गरे पनि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारको बहुमत पुग्दैन। ओली सहित एमालेका ३९ सांसद छन्। अहिले ८० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४१ सांसदको समर्थन चाहिन्छ। विपक्षी गठबन्धनमा भने सभामुख सहित ४१ सांसद छन्।