‘माधवजी तत्काल सरकारमा सहभागी हुनुहुन्न’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने बताएका छन्।
आइतबार माओवादी स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा जानकारी दिँदै अध्यक्ष दाहालले अब नेपाल पक्षको सहभागिता विनै मन्त्रिपरिषद् विस्तार गरिने बताएका हुन्। उनी एमाले वरिष्ठ नेता नेपाललाई भेटेर स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका थिए।
माओवादीका एक स्थायी कमिटी सदस्यका अनुसार, नेता नेपाल अप्ठ्यारो अवस्थामा रहेको दाहालले जानकारी गराएका थिए। “अहिले माधवजी अप्ठ्यारोमा हुनुहुन्छ। पार्टीभित्रै संघर्ष गर्ने कि पार्टीबाहिर भन्ने दोधारमा हुनुहुन्छ,” दाहालको भनाइ उद्धृत गर्दै ती स्थायी कमिटी सदस्यले भने।
जसले गर्दा अहिले नै नेपाल पक्ष सरकारमा सहभागी नहुने भएकाले अब तीन दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने दाहालको भनाइ थियो। “माधवजी तत्काल सरकारमा सहभागी हुनुहन्न,” दाहालले स्थायी कमिटी बैठकमा भने, “अब तीन दलबीच छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ।”
सत्ता गठबन्धनमा रहेका अन्य दलका नेताहरूसँग छलफल गरेपछि माओवादीमा मन्त्री छनोटका लागि छलफल हुने भएको छ। त्यसका लागि माओवादीले सोमबार स्थायी कमिटी बैठक बोलाएको छ।
अहिले माओवादीबाट पम्फा भुसाल र जनार्दन शर्मा सरकारमा सहभागी छन्। थप मन्त्रीका विषयमा सोमबारको स्थायी कमिटी बैठकमा टुंगो लाग्ने जनाइएको छ।